सिरिया संकट

अहिले संसारका आँखा सिरियातर्फ सोझिएका छन् । केही दिनदेखि टेलिभिजनका पर्दा र इन्टरनेटका भित्ता बमले क्षतविक्षत सिरियाली बालबालिकाका तस्बिरले रंगिएका छन् । सात वर्षदेखि सिरियामा जारी गृहयुद्धको नांगो रूप देखेर विश्व स्तब्ध छ । सिरियाका दृश्य हेर्ने र देख्ने जोकोही मन थामेर बस्न सकिरहेका छैनन् । अरब वसन्तको बाछिटाले सिरियालाई सन् २०११ मा छुन पुगेको थियो । चार दशकभन्दा लामो समयदेखि निरंकुश शासन चलाइरहेको बसर अल असद सत्ताविरुद्ध बागी युवाले सडकमा ‘जनताको इच्छा ः निरंकुश शासनको अन्त्य’ भन्ने नारा घन्काएका थिए । लोकतन्त्रका लागि सामाजिक सञ्जालमार्फत सुरु भई सडकमा पोखिएको आवाजलाई बसर सत्ताले दबाउन थाल्यो । कैयौं क्रान्तिकारी जेलमा कोचिए, मारिए र बेपत्ता पारिए । सत्ताको निरंकुश शैलीले शान्तिपूर्ण रूपमा सुरु भएको त्यही विद्रोह हिंसात्मक बन्न पुग्यो । सिरियालीको लोकतन्त्र प्राप्तिको चाहनालाई सघाउने नाममा पश्चिमी शक्तिराष्ट्र र अरबका क्षेत्रीय शक्तिहरूले हतियारको व्यापार गर्न थाले । विद्रोहीका हातमा अमेरिकी र युरोपेली रकेट एवं मोर्टार थमाइए । शान्तिपूर्ण आन्दोलनमै दमन गरिरहेको बसर सत्तालाई विद्रोहीले हतियार समाएपछि मान्छे मार्ने लाइसेन्स मिले बराबर भयो । बसर सत्ताले रासायनिक हतियारसमेत प्रयोग गर्दै मान्छे मार्न थाल्यो । बसर सत्तालाई रसिया र इरानजस्ता राष्ट्रले पर्दापछाडिबाट सघाउन थाले।

Add